क्यान्सर (Cancer) अथवा अर्बुद रोग

१) क्यान्सर रोग के हो ?

क्यान्सर रोग शरीरको कोश या कोशीकाहरुको समुहको अस्वाभाविक वृद्धि हो। यदी यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीर भरि नै यो रोग फैलिन्छ र अन्तत: यो मृत्‍यु को कारण नै बन्न पुग्छ ।

) शरीरका कोशीकाहरुको सामान्य बृदि र क्यान्सर र रोगिय बृदिमा के फरक छ?

मानव शरीर अरबौं कोशीकाहरुबाट बनेको छ । सामान्यत: तिनीहरु उमेरसँगै स्वाभाविक र नियमित किसिमले बढदछन् । यसलाई एक किसिमको गिर्खा या ट्युमर भनिन्छ ।

३) ट्युमर कती किशिमका हुछन?

सामान्यत: ट्युमर दुई किसिमका हुन्छन्:

(क) घातक (Malignant):  उग्र प्रवृतिको ट्युमर यो घातक प्रवृतिको ट्युमर हो । जबसम्म शल्यकृया या अन्य कुनै माध्यम्ले यसलाई हटाइदैन तबसम्म यो बढेर शरीरको अन्य भागमा फैलिरहन्छ । यही उग्र स्वभावको वृद्धिकै कारण यस ट्युमरलाई क्यान्सरको नाम दिईएको हो ।

(ख) सौम्य (Benign): यो नम्र प्रवृतिको ट्युमर हो । सामान्यत: यो हानिकारक हुँदैन र शरीरको अन्य भागमा पनि फैलदैन । प्राय: यो ट्युमर क्यान्सर रोगमा पारीणत हुँदैन ।

(४) क्यान्सर रोग सरुवा या संक्रामक रोग हो?

होइन, यो त्यस्तो प्रकारको रोग होइन । किन कि यो कुनै जिवाणुका कारण हुँदैन । त्यसैले यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने प्रश्ननै उठ्दैन |

(५) क्यान्सर रोग कसरी फैलन्छ?

सामान्यत: अर्बुद रोग तीन किसिमले फैलन्छ |

(क) क्यान्सर रोगका कोशीकाहरु रक्तनलीहरुमा बढ्छन् र रगतकै माध्यामबाट शरीरका अन्य भागहरुमा फैलन्छन् |

(ख) क्यान्सर रोगका कोशीकाहरु शरीरका अङ्ग या तन्तुहरुबाट निस्कने एक किसिमको रङ्गहीन क्षार Lymph (लिम्फ) बाट प्रवेश गर्छन् र Lymph Glands (लिम्फ ग्ल्यान्ड्स) तिर प्रवहित हुन्छन् ।

(ग) क्यान्सर रोगका कोशीकाहरु सोझै शरीरका एक तन्तुबाट सँगैको अर्को तन्तुमा सरेर पनि बढ्छन् |

(६) क्यान्सर रोग के कारणले हुन्छ?

क्यान्सर रोग यही नै कारणले हुन्छ भनेर ठ्याक्कै भन्न गार्हो छ । तर, केही चिजहरु जसलाई Carcinogens (कर्सिनोजेंस) भनिन्छ, यसले निश्चित पनि क्यान्सर रोग हुने सम्भावना बढाउनमा भने मद्दत गर्दछ । जस्तो कि: जो मानिस धुम्रपान या खैनी खान्छ उसलाई मुख, घाटी, र फोक्सोको क्यान्सर रोग हुने प्रवल सम्भावना हुन्छ । यसलाई क्यान्सरको कारक तत्व भनिन्छ |

(क) सुर्तीजन्य  बस्तुहरुमध्यपान र धुम्रपान को अत्याधिक सेवन गर्नाले शरीरका बिभिन्न अंगहरुमा क्यान्सर रोगको प्रवल सम्भावना हुन्छ ।
(ख) खानपिन: अत्याधिक चिल्लो खाना, नुन बढी भएको खाना, धुवाँमा सेकाएको मासु, ढुसी परेको खानेकुराहरु, बासी खानेकुराहरुको प्रयोग गर्नाले क्यान्सर रोग हुने सम्भावना हुन्छ ।

(ग) बंशानुगतकुनै कुनै क्यान्सर रोगहरु बंशानुगत भएको पाइन्छ | बंशानुगत भन्नाले कुनै व्यक्तिमा क्यान्सर रोग पाइएको खन्डमा उक्त व्यक्तिको रक्त सम्बन्धी नातेदार (दाजुभाई, दिदीबहिनी, छोराछोरीहरु) लाई समेत क्यान्सर रोग लाग्ने सम्भावना बढी हुन्छ ।

(घ) बिकिरण (Radiation): हाम्रो शरीरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न स्रोतको माध्यमबाट रेडियो विकिरणको प्रभाव परिरहेको हुन्छ । जस्तै: अत्याधिक घाम, परमाणुको प्रभाव आदिबाट हामीलाई शरीरको विभिन्न भागमा क्यान्सर रोग हुने अत्यधिक सम्भावना हुने गदर्छ । त्यसैगरी नियमित रुपमा उपचार विधिमा प्रयोग हुने विकिरण जस्तै : X-ray, CT Scan, Radiotherapy, Mammogram आदिको अत्याधिक प्रयोगबाट कुनै-कुनै बेला क्यान्सर रोग हुने सम्भावना रहन्छ । 

(ङजिवाणुको कारणबाट: कुनै कुनै क्यान्सर रोगको कारक तत्वको रुपमा कुनै जिवाणुहरुले गर्दा पनि भएको छ । उदाहरणको रुपमा पाठेघरको मुखको क्यान्सर (Cancer Cervix) को कारक तत्वको रुपमा HPV Virus (एच.पि.भी. भाइरस) लाई  लिइएको छ ।

(च) अन्य कारक तत्वहरुमा:
–  वातावरण प्रदुषण
– औद्योगिक प्रदुषण
– मिसावटयुक्त खानपान सेवन,
– विभिन्न विषाक्त रसायन पदार्थको प्रभावले गर्दा ।

(7) क्यान्सर रोग पुर्ख्यौली रोग हो?

पुर्ख्यौली गुणहरुका कारण पनि केहीमात्रामा क्यान्सर रोग हुने सम्भावना रहेको उदाहरणहरु भेटिएका छन् । आमाबाबु दुबै या एकमा हुने सम्भावनालाई गम्भिरताका साथ हेरिनु पर्छ |

(८) क्यान्सर रोगबाट बच्ने माध्यमहरु के के हुन ?

निम्न लिखित बुँदाहरुमा ध्यान दिएको खण्डमा संसारमा हुने सबै खालका क्यान्सर रोग मध्य १/३ क्यान्सर रोगबाट हामी बच्न सक्दछौं । जस्तै:
– मध्यपान तथा धुम्रपानको सेवन नगर्ने,
– शाकाहरी र सन्तुलित भोजनको सेवन गर्ने,
– चर्को नुनको प्रयोग नगर्ने ,
– धुवाँमा सेकाएका मासु कम सेवन गर्ने,
– चिल्लो पदार्थ, ढुसी परेको, बासी खानेकुराको प्रयोग कम मात्रामा गर्ने
– नियमित व्यायाम गर्ने,
– सरसफाईमा बिशेष ध्यान पुर्याउने,
– नियमित स्वास्थ्य परिक्षण गर्ने |

९)  हामी कसरी क्यान्सर रोगलाई नियन्त्रण गर्न सक्छौं?

क) क्यान्सर रोगका सम्भावित लक्षणहरु देखिनासाथ चिकित्सकसँग सम्पर्क राख्ने र त्यसो नगरे यस रोगबाट हुने सम्भावित पारीणामका बारेमा सधैं सचेत रहेर हरेकले चनाखो हुने ।

ख) बर्षेनी नियमित रुपमा शरीरको पूर्ण परिक्षण गर्ने; २० बर्ष पुगेका विवाहित महिलाहरुले नियमित रुपमा हरेक १-३ बर्ष भित्र Pap Smear Test (प्याप स्मेअर टेस्ट) गराउने । त्यसमा पनि ३५ बर्ष भन्दा माथिका महिलाहरुले त भएसम्म बर्षेनी परिक्षण गराउनै पर्ने ।

ग) रोग लागेको भए यथाशक्य चाडो पत्ता लगाउने र चिकित्सकको रायअनुसार उपचारमा संलग्न हुने |

घ) क्यान्सर रोगको कारण, लक्षण, जतिसक्दो चाडो यसको उपचार गर्नुको महत्व र उप्युक्त उपचार विधी र यसको महत्वका बारेमा चेतना प्रवाह गर्न सकियो भने यस रोगलाई नियन्त्रणमा लिन सकिन्छ |

१०)  क्यान्सर रोगका प्रारम्भिक संकेतहरु के के हुन सक्छन्?

सामान्यत: क्यान्सर रोगका आठवटा प्रारम्भिक संकेतहरु हुन्छन् ,जस्लाई क्यान्सर रोगका सुरुका आठ लक्षणहरु भनिछ |
– हतपत निको नहुने खोकी वा घोक्रो स्वर भएमा
– कोठिको रङ्ग र आकारमा परिवर्तन देखापरेमा
– स्थन अथवा शरीरको अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आएमा
– दिशा वा पिसाबको बानि फरक परेमा
– असाधारण रक्तश्राव अथवा पीप आएमा
–  अपच अथवा खान निल्न गार्हो भएमा
–  पुरानो घाउ निको नभएमा
–  बिना कारण वजन घटेमा

११) कुन क्यान्सर रोग शुरुमै पत्ता लगाएर उपचार गर्न जरुरी हुन्छ ?

क्यान्सर रोग शुरुमै पत्ता लाग्यो र उपचार थालियो भने शरिरको अन्य भागमा फैलिने सम्भावना थोरै हुन्छ र यसको उपचार सजिलै गर्न सकिन्छ । कुनै पनि क्यान्सर रोग ढिलो गरी पत्ता लागेमा निको हुन गार्हो हुन्छ । त्यसैले हामी भन्छौं, "क्यान्सर निको हुन्छ, शुरुमै उपचार गरे ।"

१२) क्यान्सर रोगको परिक्षण कहाँ गर्न सकिन्छ ?

भक्तपुर स्थित नेपाल अर्बुद रोग निवारण संस्था, भक्तपुर क्यान्सर अस्पताल, चितवन स्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल र हरिसिद्धि, ललितपुर स्थित नेपाल ल्यांसेर हस्पिटल एण्ड रिसर्च सेन्टर मा यसको प्रारम्भिक परिक्षण एवम उपचार गर्न सकिन्छ । यसका लागी नेपाल नेपाल अर्बुद रोग निवारण संस्थाले पनि समय समयमा परिक्षण क्लिनिकहरु सन्चालन गर्ने गरेको छ तथा आफ्नो नजिकको कुनै पनि अस्पतालहरुमा पनि शंका लागेको खण्डमा यसको परिक्षण गर्न सकिन्छ ।

१३) क्यान्सर रोग पत्ता लगाउन कुन किसिमका उपायहरु प्रयोग गरिन्छ ?

क्यान्सर पत्ता लगाउन शरीरको शंका लागेको भागको मासुको जाँच गर्नु पर्छ जसलाई वायोप्सी (Biopsy) भनिन्छ । यसभन्दा बाहेक रोगको प्रवृति हेरेर अरु थुप्रै जाँचहरु गर्न सकिन्छ । जस्तै: तरल पदार्थको जाँच (FNAC), Bone Marrow Examination आदी ।

१४) क्यान्सर रोगको उपचार कसरी गरिन्छ ?

शल्यकृया (Surgery), केमोथेरापी (Chemotheraapy), रेडियोथेरापी (Radiotherapy) अथवा यि तीन बिधिहरु एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा क्यान्सर रोगको उपचार गर्न सकिन्छ ।

१५) के सबै प्रकारका क्यान्सर रोगको उपचारका लागी रेडियसन (Radiation) उपयुक्त हुन्छ ?

हुँदैन, क्यान्सर रोगको उपचार विधी यसको प्रकार, स्थान र यसको बृद्दिको मात्रामा भर पर्छ र सबै किसिमका क्यान्सर रोगको उपचारका लागी रेडियसन (Raadiation) उपयुक्त हुँदैन, आवश्यकता अनुसार अन्य विधिहरुको प्रयोग हुन्छ ।

१६) रेडियसन (Radiation) ले के गर्छ ?

रेडियसन (Radiation) ले क्यान्सर रोगका आक्रान्त कोशीकाहरुलाई नष्ट गर्दछ । तर, अहिले सामान्य कोशीका र तन्तुहरुलाई जोगाएर क्यान्सर रोगका आक्रान्त कोशीकाहरुलाई मात्र नष्ट गर्ने अत्याधुनिक प्रविधिको बिकास भएको छ ।

१७) शल्यक्रिया (Surgery) कतिको प्रभावशाली हुन्छ ?

शुरुको अवस्थामा रहेको क्यान्सर रोगको उपचारका लागी शल्यक्रिया पनि एक उपयुक्त विधी हो । प्लास्टिक तथा रिकन्स्ट्रकटिव सर्जरी र एनेस्थेसियामा भएको उल्लेखनिय एवम सफल प्रयोगले शल्यक्रिया क्यान्सर रोगको उपचारका लागी एक सफल विधी साबित भएको छ । यसलाई Onco Surgery (अंको शर्जरी) भनिन्छ ।

१८) क्यान्सर रोग लागेको आशंका लागेमा तपाईले के गर्नुपर्छ ?

सम्भव भए क्यान्सर रोग बिशेषज्ञ (Cancer Specialist) र नभए आफ्नो नजिकैको चिकित्सकसँग तुरुन्त परिक्षण गर्नुपर्दछ ।

१९) के क्यान्सर रोग उपचार गर्न सकिन्छ?

यदी समयमा उचित किसिमले उपचार गर्न सकियो भने अहिले ३३ प्रतिशत क्यान्सर रोग निको पार्न सकिन्छ । तर, यो जति लामो समसम्मा रहेको हुन्छ, त्यति नै यसको सफल उपचार सम्भव हुँदैन । राम्रो खानपिन गरेमा १/३ क्यान्सर रोगबाट हामी बच्न सक्छौँ, शुरुमै उपचार गरे १/३ क्यान्सर रोग पूर्णतया निको हुन्छ र ढिलो भएको खण्डमा १/३ क्यान्सर रोगलाई निको पार्न सकिंदैन | 
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको पर्चाबाट